पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान नियन्त्रित कश्मीरमा ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही गरेर विश्वलाई चकित पारेको भारतले अब हतियार प्रविधिमा एउटा यस्तो छलाङ मारेको छ, जसले विश्वका महाशक्तिहरूलाई समेत सोच्न बाध्य बनाएको छ।
भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओ ले आफ्नो अति गोप्य ‘प्रोजेक्ट विष्णु’ अन्तर्गत ध्वनिको गतिभन्दा ८ गुणा छिटो उड्ने हाइपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ।
यो सफलतासँगै भारत अब रुस, चीन र अमेरिकासँगै हाइपरसोनिक हतियारको विशिष्ट क्लबमा सामेल भएको छ। तर, के यो केवल एउटा मिसाइल परीक्षण हो, वा दक्षिण एसिया र विश्वको शक्ति सन्तुलनलाई नै बदल्ने भारतको ठूलो रणनीतिको सुरुवात? हो भन्ने बहस समेत सुरु भएको छ ।
यो कुनै सामान्य मिसाइल होइन। यो भारतको हालसम्मको सबैभन्दा उन्नत र घातक हतियार हो। यसका विशेषताहरूले नै यसको भयावहताको अनुमान लगाउन सकिन्छ ।
लगभग ८ म्याक, अर्थात् ११,००० किलोमिटर प्रतिघण्टा यसको गति रहेको छ । यो गतिमा दिल्लीबाट बेइजिङ पुग्न एक घण्टाभन्दा कम समय लाग्छ। क्रान्तिकारी ‘स्क्र्यामजेट’ इन्जिन यसमा रहेको छ ।
जसले हावाबाटै अक्सिजन लिन्छ। यसले मिसाइललाई हल्का बनाउँछ र लामो दूरीसम्म तीव्र गतिमा उड्न मद्दत गर्छ। यो कम उचाइमा उड्ने र उडानको क्रममा आफ्नो बाटो बदल्न सक्ने भएकाले विश्वका कुनै पनि अत्याधुनिक राडार र एयर डिफेन्स सिस्टमले यसलाई पत्ता लगाउन र रोक्न लगभग असम्भव छ।
यस्तै यसले २,००० किलोग्रामसम्मको परम्परागत वा आणविक हतियार बोक्न सक्छ। यसलाई जमिन, समुद्र वा हावा, जहाँबाट पनि प्रहार गर्न सकिन्छ।
यो मिसाइलको सफल परीक्षणसँगै भारतले आफ्नो रक्षा प्रणालीमा एउटा यस्तो हतियार थपेको छ, जसको कुनै जवाफ हाल उसका छिमेकी देशहरू, विशेषगरी चीन र पाकिस्तानसँग नभएको दाबी गरिन्छ ।
हाइपरसोनिकको अर्थ हो, ध्वनिको गति (१ म्याक) भन्दा ५ गुणा वा सोभन्दा बढीको गति। यो प्रविधि यति महत्वपूर्ण हुनुका पछाडि दुई मुख्य कारण रहन्छन् ।
अत्यधिक गति र अप्रत्याशित मार्ग । यति तीव्र गतिमा आउँदै गरेको हतियारलाई प्रतिक्रिया दिन दुश्मनसँग समय नै हुँदैन भने ब्यालिस्टिक मिसाइलहरू अन्तरिक्षमा गएर एउटा निश्चित बाटोमा फर्कन्छन्, जसलाई अनुमान गर्न सकिन्छ।