भारतका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा उनको मुम्बईस्थित आफ्नै निवासमा सोमबार दिउँसो १ बजे निधन भएको हो। यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्।
उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई श्रद्धाञ्जली अर्पण गर्न बलिउड सेलिब्रेटीहरू उनको निवास पुगेका छन्। बलिउड फिल्म निर्माता करण जौहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि गत साता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यसबेला नै उनको निधनको अफवाह फैलिएपछि परिवारका सदस्यहरुले झुटो खबरहरुप्रति दुःख ब्यक्त गरेका थिए ।
त्यहाँ उनलाई तीन दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए। र, घरमै उनको उपचार भइरहेको थियो। सोमबार भने उनले घरमै अन्तिम सास लिए।
सन् १९३५ डिसेम्बर ८ मा पञ्जाब राज्यमा पर्ने नसराली गाउँमा जन्मिएका धर्मेन्द्र भारतीय फिल्म उद्योगका ‘सबैभन्दा ह्यान्डसम अभिनेता’ भनेर चिनिन्छ। उनको व्यक्तित्व र आकर्षण यति प्रभावशाली थियो कि बलिउडका सदाबहार अभिनेता देव आनन्दले समेत उनलाई देखेर भनेका थिए, ‘हे भगवान्, यस्तो अनुहार मलाई किन दिएनौ ?’
हिन्दी फिल्मका निकै लोकप्रिय कलाकार रहेका धर्मेन्द्रले ७ दशक लामो अभिनय करिअरमा ३ सयभन्दा बढी फिल्ममा काम गरेका छन्। ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’, ‘दोस्त’, ‘प्रतीज्ञा’ जस्ता फिल्म उनका सर्वाधिक लोकप्रिय छन्।